सल्यानमा स्वास्थ्य बिमा लागू, बिमामा आबद्ध हुन राज्यमन्त्री रावतको आग्रह


सुर्खेत । ६३ औँ जिल्लाका रुपमा सल्यान जिल्लामा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सल्यानको खलंगामा एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपाली नागरिक कोही पनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको बताए । गत आर्थिक बर्षमा कोरोनाको असरकार कारण केही समय पछाडि धकेलिएको बताउँदै चालु आर्थिक बर्षमा ७७ वटै जिल्लामा सुरु गर्ने योजना रहेको राज्यमन्त्री रावतले जानकारी दिए । स्वास्थ्य बिमाले थोरै लगानीमा उपचार सेवा उपलब्ध हुने भन्दै यस कार्यक्रममा सबैलाई आबद्ध हुन उहाँले आग्रह गरे । स्वास्थ्य विमा बोर्डका कार्यकारी सदस्य चन्द्र थापाले प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट समेत बिमा सेवा उपलब्ध गराइने हुँदा स्थानीय नागरिक लावान्वित हुने बताए । आफ्ना सबै नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्नका लागि तहहरुलाई उहाँले आग्रह समेत गरेका छन् ।