ओली-देउवा बीच जुट्यो अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्मको उच्च समझदारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच उच्च स्तरको समझदारी जुटेको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच प्रमुख दुई दल मिलेर मुलुकमा स्थिरता र बिकासको कामलाई अघि बढाउनु पर्ने निश्कर्षसहित अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्ममा उच्च समझदारी जुटेको हो ।
देउवा निकट एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुुसार नेकपााट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्डको नीति नै धोका दिएर खाल्डोमा जाक्ने रहेको निश्कर्षमा सभापति देउवा हुनुहुन्छ । सहकार्य भइरहेको बेला पत्तै नदिई अर्कोसँग साँठगाँठ गर्ने प्रचण्डको शैलीको सिकार यसअघि नै बनिसकेको भन्दै देउवाले आफू निकटसँग ‘अव फेरि धोका खान प्रचण्डसँग गइन्न, ओली नै बचनका पक्का छन, त्यतै सहकार्य हुन्छ’ भन्दै लाइन प्रष्ट पार्नुभएको ती नेताले खुलासा गरे ।
‘हामीसँग सरकारमा बसेर एमालेसँग चुनाव लडन गएको होइन प्रचण्ड ? दुई बर्षसम्म साथीहरुलाई जवाफ नै दिन नसक्ने गरी धोका दिए, अव पनि त्यस्तो धोकेवाजको कुरा पत्याउने ?’ देउवाको भनाई उधृत गर्दै ती नेताले भने । उनका अनुसार कांग्रेसभित्र प्रचण्डको चरित्र नबुझेकाहरुले मात्रै उनीसँग सहकार्य गर्नुपर्ने कुरा गरिरहेका छन ।
‘प्रचण्डले हाम्रै साथीहरुको कानमा पनि गुलियो हालिसकेछन, उनीहरु गुलियो गरी मुख मिठ्याएर बसुन, पत्तै नपाई धडखालोमा हालिदिने शैली छ प्रचण्डमा,’ प्रतिनिधिसभा पुनःस्थापना भएको भोलिपल्टै भेटन आप्नो निवास आइपुग्नुभएको प्रचण्ड र माधवसँगको कुराकानीपछि देउवाले आफू निटक नेतालाई बोलाएर यस्तो सन्देश दिनुभएको ती नेताको भनाई छ । उहाँले प्रधानमन्त्री ओलीसँग मिलेर जाँदा नै मुलुकको हित हुने र कांग्रेसको नेतृत्व स्थापित हुने निश्कर्ष सुनाउनु भएको पनि ती नेताले जानकारी दिए ।
प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रचण्ड र माधव नेपाल समुहले खुसियाली मनाएपछि प्रधानमन्त्री ओली र देउवाबीच उच्च समझदारी गरेर अघि बढने सहमति भइसकेको र दुवै नेताले आफू निकट तीन-तीन जना नेता खटाएर गृहकार्य अघि बढाउनु भएको छ । अत्यन्तै गोप्य रुपमा ओली र देउवाले यो गृहकार्य बढाउनु भएको हो ।
‘प्रधानमन्त्री र देउवाबीच संसद अधिवेशनमा आउने अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्ममा मिलेर जाने उच्चस्तरको समझदारी भएको छ, त्यस्का लागि दुवैतर्फबाट केही नेतालाई जिम्मा दिइएको छ,’ नेकपाका एक नेताले भने । ओली र देउवाबीच भएको उच्च समझदारीअनुसार नै प्रचण्ड-माधव समुहलाई देउवाले दलको हैसियत के हो भनेर जवाफ दिनुभएको स्रोतले बतायो ।
त्यसो त ओली र देउवा जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग पनि घनिभुत संवाद अघि बढाउनु भएको छ । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भारतको लाइनअनुसार प्रचण्ड-माधव समुहसँग मिल्नुपर्ने अडानमा रहेको छ । तर महन्त ठाकुरसहित सोही दलका अधिकांश नेता तथा सांसदहरु ओलीतिरै मिलेर जानुपर्ने अडानमा उभिनुभएको छ । जवर्जस्ती गरेर प्रचण्ड-माधव समुहतिर लागे बहुमत सांसद बिद्रोह गरी आउने तयारीमा रहेको जानकारीसमेत दिइसकेका छन ।
देउवाको यो जवाफपछि नै प्रचण्डले कांग्रेसभित्र खेल्नुपर्ने भन्दै आफू निकट मिडियामा समाचार लेखाउनु भएको छ । प्रचण्ड निकट मिडियाले यो सूचना पाएपछि ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुविधामा देखिए पनि कांग्रेसका बहुमत नेता र सांसद प्रचण्ड-नेपाल समूहसँग नजिक देखिएका छन’ भन्दै अफवाह फैलाएका हुन । जनताटाईम्सबाट