मंगलबार देखी दैलेखमा पनि निषेधाज्ञा


सुर्खेत ।
बिश्वभर तिब्र रुपमा बढ्दै गई रहेको कोभिड–१९ को नयाँ भेरियन्ट रोकथाम र नियन्त्रणको लागी मंगलबार देखी दैलेख जिल्लामा पनि निषेधाज्ञा गरिने भएको छ ।
निषेधाज्ञा अवधिभर आदेशको उल्लघन गर्ने, जनस्वास्थ्यका मापदण्ड पुरा नगर्ने, जो कोहिलाई कानुन बमोजिम संक्रामक रोग ऐन २०२० अनुसार १ महिना कैद वा रु १०० जरिवाना वा दुवै र आदेश पालनमा बाधा पुर्याउने जो कोहिलाई ६ महिना कैद वा रु ६०० जरिवाना वा दुवै सजाय हुने सोमबार जारि सूचनामा उल्लेख छ ।
अत्यावश्यक कामकाज बाहेक जिल्लामा मिति २०७८ साल बैशाख २१ गते मंगलवार राति १२ः०० बजेदेखि बैशाख २८ गते मंगलबार राति १२ः०० बजेसम्म एक साताकोलागि निषेधाज्ञा गरिने भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रको निर्णय अनुसार निषेधाज्ञाको अवधिभर एम्वुलेन्स, दमकल, शवबाहन, झण्डावाल सरकारी र निलो प्लेटका सवारीसाधनहरु र अत्यावश्यक दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनहरु संचालन गर्न पाइने छ ।
त्यस्तै निषेधाज्ञाको अवधिभर जनस्वास्थ्यका मापदण्ड पुरा गरी खाद्यान्न, फलफूल, तरकारी, ग्यासका पसलहरु बिहान ०६ः०० बजेदेखि ०८ः३० बजेसम्म मात्र खुल्ला गर्न पाईने छ ।
निषेधाज्ञाको अवधिभर शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सुचना तथा संचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, Bank ATM, एग्रोभेट सेवाहरु र जनस्वास्थ्यका मापदण्ड पुरा गरी सार्वजनिक निर्माण कार्यहरु संचालन गर्न पाइने छ ।