उपप्रमुख ढकालको स्वराेजगार याेजना, जसले फेरियो महिलाहरुको जीवन

वीरेन्द्रनगर नगरपालिकाले एक घर एक महिला स्वराेजगार कार्यक्रम सञ्चालन गरिरहेकाे छ

सुर्खेत, २३ असार ।
वीरेन्द्रनगर ११ गाग्रेतालकी टिका बि.क.को परिवारलाई श्रीमानको कमाइले मात्र घर खर्च टार्न, छोराछोरी पढाउन सकस थियो । उनी कामको खोजीमा थिइन् । तर काम पाएकी थिइनन् । जसले पनि काम पाउनलाई हातमा सिप हुनुपर्छ भन्थे । त्यसैबीच वीरेन्द्रनगर नगरपालिकाले अटो रिक्सा चालक सम्बन्धी तालिम दिइरहेको उनले सूचना पाइन् । नगरपालिकामा गएर बुझ्दा तालिमसँगै रिक्सा किन्न पनि सहयोग गर्ने कार्यक्रम रहेछ । उनले फारम लगाइन् । नगरपालिकाले छनौट पनि गर्यो । सिप सिकाएर रिक्सा पनि किनीदियो । अहिले उनको अवस्था फेरिएको छ । रिक्सा चलाएरै राम्रो आम्दानी गरिरहेकी छन् ।
‘आफूले घरायसी काम गरेपनि पैसा नआउने हुँदा हरेक काममा श्रीमानसंग पैसा माग्न अप्ठेरो लाग्थ्यो ।’ श्रीमानले ज्याला मजदुरी गरेर कमाएको पैसा कति दिन माग्ने भन्ने सोच मनमा उब्जिन्थ्यो । तर उनको अगाडी विकल्प केही थिएन् न त सीप थियो न त व्यवसाय गर्नलाई पुँजी ।’ उनी भन्छिन,‘जीवन सधैँे चुलो चौकोमै वित्छकी के हो भन्ने लाग्थ्यो । अहिले गाडी ड्राइभर भएदेखि धेरै सहज भएको छ । बाल बच्च पढानउन, घर व्यवहार चलाउन । पैसा आफ्नो हातमा भयो भने आफूलाई जे पनि आँट आउदो रहेछ । नगरपालिकाको योजनाले आफ्नो जीवन परिवर्तन गरिदिएको उनी बताउँछिन् ।
उनी मात्र हैन वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ की मौसमी शाही पनि अहिले अटो चलाएर स्वरोजगार बनेकी छन् । उनलाई पहिले जागिर खाने इच्छा थियो । तर चाहाना पूरा हुन सकेन् । नगरपालिकाले सीप सिकाएर अटो रिक्सा किन्नका लागि समेत सहयोग गरेपछि मासिक ३० हजार माथि कमाइ गरिरहेका छिन् । अहिले उनलाई जागिर नपाएकोमा पश्चाताप छैन् । नगरपालिकाले आफूजस्तै महिलाहरुलाई वरोजगार बनाएर अभिभावकीय भूमिका खेलेको भन्दै वीरेन्द्रनगरवासी महिला हुनुमा गर्भ लाग्ने गरेको उनी बताउँछिन् । ‘नगरपालिकाले काम त धेरै गरेको छ तरपनि हामी जस्ता महिला र पछाडी परेका समुदायका लागि गरेको स साना कामले नै जीवन परिवर्तन गर्दाे रहेछ’ उनले भनीन्‘यसले हाम्रो जीवन परिवर्तन गरेको छ म नगरपालिका र यो कार्यक्रम ल्याउने उपप्रमुखलाई धन्यवाद दिन चाहान्छु ।’ नगरपालिकाले चुलो चौकोमा सिमित महिलाहरुलाई आफ्नो खुट्टामा उभ्याइदिएको भन्दै यस्ता कार्यक्रमले नै सरकार भएको महशुस हुने उनी बताउँछिन् ।
वीरेन्द्रनगर १० की यशोधा साप्कोटाले पहिले ‘ड्राइभर’ (सवारी चालक) पुरुष मात्र हुन्छन भन्ने लाग्थ्यो । वीरेन्द्रनगर नगरपालिकाले महिलाहरुका लागि अटो रिक्सा चलाउने तालिम आयोजना गरेको सुनेपछि उनले आफू पनि सहभागी हुने अवसर पाइन् । तर तालिममा जाँदा र फर्किदा अटो रिक्सा चालकलाई ध्यान दिएर हेर्थिन । सबैमा पुरुष नै चालक देख्थिन् । उनलाई महिलाहरुले पनि अटो चलाएर खान सकिन्छन त ? भन्ने सोचाई मनमा खेलिरह्न्थ्यो । जब तालिममा जान्थिन महिलाहरुले पनि केही गर्नुपर्छ पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन भनेर चर्चा हुन्थ्यो । त्यसले उनमा चालक बनेरै छाड्ने साहस बढ्थ्यो । तालिमपछि नगरपालिकाले अटो रिक्सा किन्नका लागि दुई लाख रुपैँया पनि दियो । त्यस मध्य एक लाख अनुदान र एक लाख विना ब्याज दुई बर्षपछि फिर्ता गर्नुपर्ने रकम हो । बाँकी रकमको पनि नगरपालिका नै जमानी बसेर अटो रिक्सा किनिदियो । अहिले उनी अटो रिक्सा चलाएरै राम्रो कमाई गरिरहेकी छन् । महिलाहरुले अटो रिक्सा चलाउने कार्यक्रमले स्वरोजगार त बनाएको छ नै महिला र पुरुषबीच हुने विभेदसमेत कम गरेको अनुभूति उनलाई भएको छ । ‘गाडी चलाउने ड्राइभर त छोरा मान्छे मात्रै हुन्छन भन्ने मानसिकता थियो’ उनले भनीन्‘नगरपालिको दिएको कार्यक्रमले हामी स्वरोजगार त बनेका छौँ नै कुनै पनि काम छोरा मान्छेले वा छोरी मान्छेले मात्र गर्नुपर्छ भन्ने हुँदै भन्ने कुराको प्रमाणित गरेको छ ।’ महिलाहरुले पनि कमाउदा परनिर्भरता हट्ने र यसले आत्मसम्मानमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।
सडकमा महिलाहरुले अटो रिक्सा चलाएर हिडेको देखेपछि वीरेन्द्रनगर १ की मिना खत्रीलाई महिले पनि यो काम गर्न सक्दा रहेछन भन्ने लाग्यो । उनमा पनि अटो चलाउने रहर जाग्यो । उनले सुरुमा पुरानो (सेकण्ड ह्याण्ड) अटो किनीन् । अटोबाट स्वरोजगार भइन्छ भन्ने त उनलाई लाग्यो तर पूरानो अटो भएकाले सोचेजति आम्दानी लिन सकिनन् । नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन सहयोग गरिरहेको छ भन्ने सुनेपछि उनी सहयोग माग्न नगरपालिकामा पुगिन । नगरपालिको उनलाई पनि अटो किन्ने व्यवस्था मात्र गरेन उनलाई प्रशिक्षक नियुक्त गरिदियो । उनले अरु महिलाहरुलाई पनि अटो रिक्सा चलाउन एक महिना सिकाइन् । पहिले उनी श्रीमानसंगै मजदुरीका लागि भारत जाने गर्थिन । अहिले आफ्नै ठाउँमा आफै मालिक भएर अटो चलाउन पाएको भन्दै नगरपालिकाले आफूहरुजस्ता महिलाहरुका लागि ठूलो गुण लगाएको बताउँछिन् । यसअघि गाडी चलाउने काम पुरुषहरुले मात्रै गर्दै आएकाले महिलाहरु ड्राइभर हुन परिवार र समाजबाटै निरुत्साहित गर्ने काम समेत भएको उनको अनुभव छ । त्यसैले नगरपालिको ल्याएको उक्त कार्यक्रमले स्वरोजगारीसंग संगै समानता ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछिन् ।

वीरेन्द्रनगरले पछाडी पारिएको सिमान्तकृत महिलाहरुलाई रिक्सा चालकको सिप मात्र नभएर अन्य थुप्रै स्वरोजगार सम्बन्धीताका सिप सिकाएर स्वरोजगार बन्न सहयोग गरिरहेको छ । यसैअन्तर्गत वीरेन्द्रनगरमा ढाँका बुनाई तालिम पनि दिएको छ । ढाँका बुनाई सिप सिकेका महिलाहरुलाई सामुहिक रुपमा व्यवसाय गर्ने ठाउँको समेत नगरपालिकाले प्रबन्ध गरिदिएको छ । वडा नं. ८ आवास क्षेत्रमा निर्माण गरिएको सामूहिक भवनमा महिलाहरुले ढाका बुनाई व्यवसाय गरिरहेका छन्।
वीनपा १३ की कमला श्रीमाल ढाका बुनाइ व्यवसायले आर्थिक रुपमा श्रीमानको भर पर्नुपर्ने अवस्था हटेको र घर खर्च चलाउन सजिलो भएको बताउँछिन् । ‘पहिले त घरमा बसेरै समय जान्थ्यो’ उनले भनीन् ‘महिलाहरु घरमा मात्र सिमित नभई केही गर्नुपर्छ भन्ने नगरपालिकाले बनाइदिएको छ ।’ नगरपालिको आफू जस्तै बेरोजगार महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाएको प्रति खुशी छन् । वडा नं. ५ की भवीकुमारी खत्री पहिले श्रीमानकै भर पर्नु परेकोमा अहिले आफै कमाएर खर्च चलाउनुका साथै समूहमा बचत गर्ने गरेको बताइन् ।
नगरपालिकाले महिलाहरुलाई विभिन्न सीपमूलक तालिम तालिमका साथै व्यवसाय सञ्चालनका लागि अनुदान समेत दिन गरेको छ । जसले महिलाहरुलाई स्वरोजगार बनाएको छ । वीरेन्द्रनगरको महिला स्वरोजगार कार्यक्रमबाट महिलाहरुले सिलाई कटाइ, मसला उद्योग, च्याउ उत्पालन, बाख्रा पालन, झोला उत्पादन लगायतका विभिन्न व्यवसाय गरि स्वरोजगार बनेका छन् ।
सशक्तिकरण र समानताका लागि स्वरोजगारमूलक कार्यक्रम
उपप्रमुख मोहनमाया ढकाल आफू पनि महिला भएकाले निर्वाचित भएदेखि नै महिलाहरुको सशक्तिकरण गर्ने कुरा उनको प्राथमिकतामा प¥यो । महिलामाथि हुने घरेलु हिंसा तथा विभेद अन्त्य गर्न आर्थिक सशक्तिकरण गर्नुपर्छ भन्ने बुझाइ उनमा राजनीति गर्दादेखि नै थियो । उपप्रमुख पदमा पुगेपछि उनले त्यसैलाई व्यवहारमा कार्यान्वयन गर्ने अवसरका रुपमा लिइन् । आर्थिक रुपले विपन्न र सामाजिक रुपले पछाडि परेका महिलाहरुलाई विशेष प्रथामिकता दिएर आर्थिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको उपप्रमुख ढकाल बताउँछिन् । ‘महिला हिंसा र सदियौ देखिको परनिर्भरतालाई अन्त्य नगरेसम्म महिलाहरुले घरेलु हिंसा, विभेद र अत्याचार भोगिरहन्छन भन्ने मेरो बुझाइ छ’ उपप्रमुख ढकालले भनीन्,‘त्यसैले आर्थिक सशक्तिकरण मार्फत सामाजिक रुपान्तरण गर्न स्वरोजगारमूलक कार्यक्रमलाई उच्च महत्व दिएका छौँ ।’ उनले आर्थिक सशक्तिकरणसंगै महिलाले पनि पुरुष सरह काम गर्न सक्छन भन्ने सन्देश दिन विपन्न महिलाहरुलाई ‘अटो ड्राइभर’ (चालक) बनाउने योजना ल्याइन् । जसले वीरेन्द्रनगरका धेरै महिलाहरुको जीवन परिवर्तन गरिदिएको छ । नगरपालिले अटो चलाउने तालिम दिनुका साथै अटो किन्नका लागि एक लाख अनुदान र एक लाख विना ब्याज ऋण दियो । बाँकी रकमको समेत जमानी बसेर नगरपालिकाले नै अटो किनिदियो । अहिले वीरेन्द्रनगरका सडकमा महिलाहरुले अटो चालाएको देख्दा उपप्रमुख ढकालको मन प्रफुलित हुन्छ । ‘महिलाहरुलाई स्वरोजगारसंगै अवसर पाएमा कुनै पनि काम महिलाले पनि गर्न सक्छन भन्ने सन्देश दिएको छ’ उनी भन्छिन्,‘जुन कुरा उहाँहरुले प्रमाणित पनि गर्नुभएको छ ।’
‘एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र समृद्धिको मुल आधार’ भन्ने नारा दिएर नगरपालिकाले महिला स्वरोजगारका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्ता कार्यक्रमलाई आगामी आर्थिक बर्षको नीति कार्यक्रममा पनि प्राथमिकता दिइएको छ ।